६ पौष, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय अब एक साता मात्र बाँकी छ।
निर्वाचन कार्यतालिका अनुसार आगामी पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ, जसका लागि हालसम्म निर्वाचन आयोगमा १०० वटा राजनीतिक दलले निवेदन दर्ता गराइसकेका छन् । यसपटकको निर्वाचनमा समानुपातिकतर्फको समावेशी कोटा निर्धारणमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई आधार मानिएकाले अघिल्लो निर्वाचनको तुलनामा जातीय र समुदायगत प्रतिनिधित्वको प्रतिशतमा केही सामान्य हेरफेर भएको छ ।
सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गरेपछि अब दलहरूले नयाँ जनगणना अनुसारको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै बन्दसूची तयार पार्नुपर्ने कानुनी बाध्यता रहेको छ । नयाँ व्यवस्थाअनुसार कुल ११० समानुपातिक सिटका लागि उम्मेदवारी दिँदा खसआर्यबाट ३३, आदिवासी जनजातिबाट ३२, मधेशी समुदायबाट १८, दलितबाट १५, थारूबाट ७ र मुस्लिम समुदायबाट ५ जना उम्मेदवारको नाम समेट्नुपर्नेछ ।
साथै, प्रत्येक समूह र समग्र सूचीमा कम्तीमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ।
निर्वाचन आयोगले पुस १४ गतेसम्म प्राप्त हुने बन्दसूचीको प्रारम्भिक प्रकाशन आगामी माघ ४ गते गर्ने लक्ष्य राखेको छ। उक्त सूचीमाथि दाबी विरोध र छानबिनको प्रक्रिया पुरा गरी माघ २० गते उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ। प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये ११० जना समानुपातिकबाट चुनिने प्रावधान रहेको छ भने बाँकी १६५ सिटका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते हुने कार्यतालिका तय गरिएको छ।















