Logo

६ पौष, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समाजमा व्याप्त भ्रष्टाचार र नैतिक विचलन रोक्नका लागि योग र ध्यान नै अचुक औषधि भएको दाबी गरेका छन् ।

विश्व ध्यान दिवसका अवसरमा आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मानिसको मनमा रहने लोभ, लालसा र घमण्डका कारण भ्रष्टाचार बढ्ने उल्लेख गर्दै त्यसलाई भौतिक औषधिले निको पार्न नसकिने तर्क गरे । उनले भ्रष्टाचारीहरूको मन शुद्ध बनाउन र समाजलाई सही दिशामा डोऱ्याउनका लागि आध्यात्मिक चिन्तन र ध्यानको संस्कृतिलाई टोल–टोलसम्म पुऱ्याउन आवश्यक रहेकोमा जोड दिए ।

मन्त्री पुनले योग र ध्यानलाई केवल सैद्धान्तिक अध्ययनको विषय नभई व्यवहारमा उतार्ने अभ्यासको रूपमा विकास गर्नुपर्ने धारणा राखे । यसै सन्दर्भमा उनले देशभरका विद्यालयहरूमा अतिरिक्त क्रियाकलापका रूपमा योग र ध्यानलाई समावेश गर्ने योजना अघि सारेका छन् । विद्यालयमा हरेक शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलापमा योगलाई अनिवार्य गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिँदै उनले विद्यार्थी जीवनदेखि नै बालबालिकाको मन शान्त र शुद्ध बनाउन सके भविष्यमा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

आध्यात्मिक जागरणलाई गाउँ–गाउँसम्म विस्तार गर्न सबै क्षेत्रका नागरिकहरूलाई आह्वान गर्दै मन्त्री पुनले मानिसको भित्री स्वभाव परिवर्तन नगरेसम्म कानुनी कारबाहीले मात्र भ्रष्टाचार नियन्त्रण नहुने स्पष्ट पारे । शिक्षा मन्त्रालयले अबका दिनमा विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि योग शिक्षालाई प्राथमिकता दिने र यसले दीर्घकालीन रूपमा राष्ट्रको नैतिक धरातल बलियो बनाउने उनको भनाइ थियो ।


सम्बन्धित समाचार
भर्खरै