६ पौष, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार दोहोरो अंकको गिरावट आएपछि सेयर बजार पुनः २६ सय अंकको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से १९ दशमलव ९२ अंकले ओरालो लाग्दै २५९५ दशमलव ०२ को विन्दुमा खुम्चिएको हो । कारोबार सुरु भएदेखि नै लगातार दबाबमा देखिएको बजार दिनभरि नै राताम्मे रह्यो, जसले लगानीकर्ताको मनोबलमा केही शिथिलता आएको संकेत गरेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सामान्य संकुचन देखिएको छ, जहाँ आइतबार कुल ४ अर्ब ५२ करोड रुपैयाँको मात्र सेयर खरिद(बिक्री भयो ।
बजारमा रहेका १३ उपसमूहमध्ये सबैको सूचक रातो रहँदा होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो १ दशमलव ६३ प्रतिशतको गिरावट देखियो । त्यस्तै, जीवन बीमा, विकास बैंक र फाइनान्स समूहका लगानीकर्ताले पनि १ प्रतिशतभन्दा बढीको घाटा व्यहोरेका छन् । आज कारोबार भएका कम्पनीहरूमध्ये २०७ वटाको सेयर मूल्य ओरालो लाग्दा जम्मा ४३ कम्पनीले मात्र सामान्य नाफा कमाउन सफल भएका छन् । सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेर सर्वाधिक गिरावट आउँदा अन्य केही विकास बैंक र हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य गुमाएका छन् ।
बजार समग्रमा ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताका लागि भने आजको दिन उत्साहजनक रह्यो । एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावर र मानुषी लघुवित्तका सेयरधनीले ८ प्रतिशतभन्दा बढीको मुनाफा हात पारेका छन् । आजको बजारमा स्वस्तिक लघुवित्त र बाराही हाइड्रोपावर लगायतका कम्पनीको सर्वाधिक कारोबार भयो । बैंकिङ र अन्य ठूला उपसमूहमा देखिएको सुस्तताका कारण समग्र नेप्से सूचकलाई माथि उठाउन कठिन भएको विश्लेषकहरूको ठम्याइ छ ।















