Logo

७ पौष, काठमाडौं । नेपाली सेनाले मुलुकको बदलिँदो परिस्थितिमा आफ्नो भूमिका स्पष्ट पार्दै नागरिक सर्वोच्चता र जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिएको बताएको छ ।

जङ्गी अड्डाले हालै सार्वजनिक गरेको एक लेखमार्फत सेनाले कुनै पनि राजनीतिक महत्त्वाकाङ्क्षा नराखेको र नागरिक सर्वोच्चताप्रति पूर्ण निष्ठावान् रहेको स्पष्ट पारेको हो । संविधानको अक्षर र मर्मको पालना गर्न कटिबद्ध रहेको जंगीअड्डाले जनाएको छ ।

विशेषगरी ‘जेनजी’ आन्दोलन र त्यसपछिको जटिल अवस्थामा सेनाले सत्ता हस्तक्षेपको कुनै सोच नबनाएको र केवल परिस्थिति सहज बनाउन तथा सरोकारवालाहरूबीच संवादको वातावरण निर्माण गर्न मात्र सहजीकरण गरेको दाबी गरेको छ । सेनाले यदि आफूमा राजनीतिक महत्त्वाकाङ्क्षा हुन्थ्यो भने वर्तमान अवस्था भिन्न हुने उल्लेख गरेको छ । लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको सेनाको भनाई छ ।

सङ्कटका बेला सेनाको परिचालन र भूमिकालाई लिएर उठाइएका प्रश्नहरूको जवाफ दिँदै सेनाले कार्यपालिकाको निर्णय र राष्ट्रपतिको अधिकारको सदैव सम्मान गरेको स्पष्ट पारेको छ । भदौ २४ गतेको घटनालाई स्मरण गर्दै सेनाले त्यसबेला विशिष्ट व्यक्ति, कूटनीतिज्ञ र सर्वसाधारणको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको र संयमित रूपमा उपस्थित भएको जनाएको छ । भौतिक संरचना जोगाउन मानवीय क्षति गर्ने पक्षमा सेना नरहेको भन्दै जङ्गी अड्डाले मानवीय मूल्य र जीवन रक्षा नै राज्यको आधारभूत कर्तव्य भएको उल्लेख गरेको छ । सेनाले आफू स्थापित सरकारको मातहतमा रही राष्ट्रिय एकता र सुरक्षाका लागि अहोरात्र खटिरहेको प्रतिबद्धता समेत दोहोर्‍याएको छ ।

यसैगरी, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरलाई लिएर भएका टिकाटिप्पणीप्रति लक्षित गर्दै सेनाले उनलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा सम्मान गरिएको स्पष्ट पारेको छ । सङ्कटको घडीमा राष्ट्रिय चेतना र एकताको सन्देश दिनु कुनै राजनीतिक एजेन्डा नभएको सेनाको ठम्याई छ । आगामी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्दै अघि बढ्ने बताउँदै सेनाले सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा हुने उल्लेख गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै