७ पौष, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
अघिल्लो दिनको तुलनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ८८ अङ्कले ओरालो लागेर २५८१ दशमलव २१ विन्दुमा खुम्चिएको हो । बजार खुलेदेखि नै सुस्त देखिएको नेप्सेमा दिनभर कुल ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भए । ६५ हजारभन्दा बढी पटकको कारोबारबाट समग्र बजारमा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्, जहाँ २०० कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ५४ कम्पनीको मात्र मूल्य बढ्न सक्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
क्षेत्रगत परिसूचकका आधारमा हेर्दा आज ट्रेडिङ बाहेकका सबै उपसमूहमा रातो पोतिएको छ । विशेषगरी होटल र जीवन बीमा समूहका लगानीकर्ताले एक प्रतिशतभन्दा बढीको क्षति व्यहोर्नुपरेको छ। बजार समग्रमा घटे पनि केही विशिष्ट कम्पनी र ऋणपत्रमा भने आकर्षण देखिएको छ । एसवाई प्यानलको सेयर मूल्यमा करिब १० प्रतिशतको बढोत्तरी हुँदै सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स र कुमारी बैंकका डिबेन्चरको मूल्यमा पनि ६ प्रतिशत हाराहारीको सुधार आएको छ । अर्कोतर्फ, मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलव ८४ प्रतिशतको गिरावटको सामना गर्नुपर्यो ।
कारोबार रकमका आधारमा आज विकास बैंक र बीमा कम्पनीहरूको वर्चस्व रह्यो । लुम्बिनी विकास बैंक १० करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रहन सफल भयो । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स र हिमालयन हाइड्रोपावरमा पनि लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । बजारमा उतारचढाव कायमै रहे पनि कारोबार रकम साढे ३ अर्बमा सीमित हुनुले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको संकेत गरेको छ ।















