७ पौष, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजनालाई मूर्तरूप दिन एमसीए–नेपालले साढे ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता सम्पन्न गरेको छ ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पूर्व–पश्चिम राजमार्गको ४० किलोमिटर सडक खण्ड स्तरोन्नति र त्यसको प्राविधिक सुपरिवेक्षणका लागि कुल २ करोड ३७ लाख अमेरिकी डलर (करिब ३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो । यस अन्तर्गत धान खोलादेखि लमहीसम्मको सडक खण्डमा नेपालमै पहिलो पटक ‘फुल डेप्थ रिक्लेमेसन’ र सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरेर सडकको पुनर्निर्माण गरिनेछ ।
परियोजनाको प्राविधिक पक्षबारे जानकारी दिँदै एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सात मिटरको मुख्य क्यारिज वे र साढे दुई मिटरको सोल्डर सहित सडकलाई १२ मिटर चौडा बनाइने बताउनुभयो । यो स्तरोन्नतिले सवारी सञ्चालन लागत घटाउनुका साथै व्यापारिक ढुवानीलाई सहज र सडक सुरक्षालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यसैगरी, नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग पनि सम्झौता गरिएको छ । यस पटकको ठेक्का प्रक्रियामा पहिलो पटक पूर्ण रूपमा नेपाली कम्पनीले पनि सहभागिताको अवसर पाएका छन् ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस सम्झौतालाई सरकारका सबै तहको साझा प्रतिबद्धता र सहकार्यको अर्को सफल उपलब्धिका रूपमा चित्रण गर्नुभएको छ । अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले पनि यो नवीनतम प्रविधिको प्रवेशले नेपालमा दिगो, प्रभावकारी र मितव्ययी सडक मर्मतको नयाँ मार्ग प्रशस्त गर्ने धारणा राख्नुभयो ।















