Logo

८ पौष, काठमाडौँ ।  सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप कार्यक्रम माघ महिनाको अन्तिम हप्तादेखि देशभर सञ्चालन गर्ने तयारी गरेको छ ।

नियमित राष्ट्रिय खोप तालिकाअनुसार सञ्चालन हुन लागेको यो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन गरिनेछ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार एचपीभी खोप कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको छ । उनले खोप सञ्चालनको समय चुनाव, चाडपर्वलगायत कारणले प्रभावित नहोस् भन्ने कुरामा विशेष ध्यान दिइने बताए ।

“माघको अन्तिमदेखि खोप अभियान सुरु गरेर फागुनको पहिलो हप्तासम्म सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको छ,” डा. गौतमले भने, “यससम्बन्धी थप विवरण र ठोस मिति छिट्टै सार्वजनिक गरिनेछ ।”

यसपटक कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका झन्डै साढे तीन लाख किशोरीलाई लक्षित गरी खोप दिइनेछ । गएको वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई एचपीभी खोप दिएको थियो ।

गत वर्ष दुई मात्राको खोप दिइएकामा यस वर्ष भने एक मात्रा मात्र खोप दिइने भएको छ । खोप सल्लाहकार समितिको सिफारिसअनुसार एक मात्राको खोपले पनि प्रभावकारी सुरक्षा दिने निष्कर्ष आएपछि यसपटक एक मात्रा मात्र खोप दिइने निर्णय गरिएको डा. गौतमले जानकारी दिए ।

लक्षित समूहका सबै किशोरीलाई खोप कार्यक्रममा सहभागी गराउन विगतका अनुभव र सिकाइका आधारमा सचेतना अभिवृद्धि गर्ने कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारणका रूपमा रहेको छ ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुने भएकाले समयमै खोप लगाउन सके यस रोगबाट जोगिन सकिने चिकित्सकहरूको भनाइ छ ।

हाल सरकारले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।


सम्बन्धित समाचार
भर्खरै