Logo

८ पौष, वीरगञ्ज । तराई–मधेशका जिल्लाहरूमा पछिल्लो केही दिनदेखि लगातारको हुस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बढ्दो चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरूलाई बढी असर पार्न थालेपछि विभिन्न स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

चार दिनदेखि निरन्तर बढेको चिसोका कारण पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएका छन्। वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ।

यसैगरी पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि बुधबारसम्म विद्यालय बन्द गरेका छन्। बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन स्थगित गरेको छ भने सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्म विद्यालयमा बिदा दिएको छ।

रौतहट जिल्लामा पनि चिसोको प्रभाव बढेपछि गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सबै सामुदायिक तथा निजी विद्यालयमा बिदा दिएको छ। गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरका अनुसार लगातारको शीतलहर र बाक्लो हुस्सुका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भएकाले अस्थायी रूपमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

महोत्तरी जिल्लामा समेत चिसोको असर व्यापक देखिएको छ। भंगहा नगरपालिकाले पुस ८ गतेदेखि १३ गतेसम्म ६ दिनका लागि नगरभित्र सञ्चालित सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगर प्रमुख सञ्जीव कुमार साहका अनुसार असामान्य रूपमा बढेको चिसोले जनजीवन प्रभावित भएपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै जाडो बिदा दिइएको हो। रामगोपालपुर नगरपालिकाले पनि मंगलबारदेखि शुक्रबारसम्म चार दिनका लागि विद्यालय बन्द गरेको छ।


सम्बन्धित समाचार
भर्खरै