८ पौष, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज नाकाबाट ३ खर्ब ६ अर्ब १ करोड रुपैयाँ बराबरको आयात भएको थियो। यस वर्ष आयातमा ५३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको वृद्धि देखिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार आयात बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। उनका अनुसार चालु आवको पाँच महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।
उक्त अवधिमा ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने ३१ अर्ब ६५ करोड रुपैयाँको फलाम तथा फलामजन्य सामग्री भित्रिएको छ।
त्यसैगरी २४ अर्ब ६० करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टपुर्जा र २२ अर्ब ८५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको भन्सार कार्यालयले जनाएको छ।
आयात वृद्धिले औद्योगिक गतिविधि तथा बजारको माग क्रमशः सुधार हुँदै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। तर आयातसँगै निर्यात प्रवर्द्धनमा समेत ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।















