Logo

८ पौष, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२र०८३ का नियमित तथा आंशिक दुवै समूहका विद्यार्थीहरूलाई तोकिएको समयसीमाभित्र परीक्षा आवेदन फाराम भर्न आह्वान गरेको हो । सूचना अनुसार साधारण शुल्कमा आवेदन दिन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र र सो समयमा छुटेकाहरूले माघ १५ गतेसम्म विलम्ब शुल्कसहित फाराम बुझाउनुपर्नेछ। बोर्डले नियमित परीक्षार्थीका लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ हुनुपर्ने र कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड तथा आन्तरिकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।

परीक्षा शुल्कको हकमा बोर्डले प्रति विद्यार्थी ८०० रुपैयाँ निर्धारण गरेको छ भने ढिलो फाराम भर्नेहरूले दोब्बर दस्तुर अर्थात् १६०० रुपैयाँ बुझाउनुपर्नेछ । विज्ञान र होटल म्यानेजमेन्ट जस्ता बाह्य परीक्षक आवश्यक पर्ने विषयका लागि थप प्रयोगात्मक शुल्क बुझाउनुपर्ने प्रावधान समेत राखिएको छ । बोर्डले २०८२ चैत ३० गतेभित्र प्रयोगात्मक परीक्षाहरू सम्पन्न गरिसक्न र वैशाख १५ गतेभित्र प्राप्ताङ्क पठाउन सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएको छ । आंशिक परीक्षार्थीहरूले आफूले पहिले नियमित परीक्षा दिएकै विद्यालयबाट आवेदन दिनुपर्ने र विषय छनोटमा कुनै त्रुटि भए आवेदन स्वतः रद्द हुने बोर्डको चेतावनी छ ।

यस पटक बोर्डले आवेदन प्रक्रियालाई थप प्रविधिमैत्री बनाउँदै अनलाइन पोर्टल मार्फत विवरण प्रविष्ट गर्ने र डिजिटल माध्यमबाटै शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । विद्यार्थीले विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपिसहित आफैँले फाराम भर्नुपर्नेछ ।
विद्यालयहरूले संकलित विवरणलाई रुजु गरी तोकिएको समयभित्र बोर्डको अनलाइन प्रणालीमा दर्ता गर्नुपर्नेछ। कनेक्ट आईपीएस, ई–सेवा र खल्ती जस्ता वालेटहरूबाट समेत शुल्क बुझाउन सकिने भएपछि विद्यार्थी र अभिभावकलाई बैंकमै लाइन बस्नुपर्ने झन्झटबाट राहत मिल्ने देखिएको छ ।


सम्बन्धित समाचार