८ पौष, काठमाडौं । मुलुकको तरल राजनीतिक परिस्थिति र आगामी निर्वाचनको सुनिश्चितताका लागि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परामर्शलाई थप फराकिलो बनाउनुभएको छ ।
यसअघि दुई ठूला दलका नेताहरूलाई मात्र आमन्त्रण गरिएको भनिए तापनि पछिल्लो विकसित घटनाक्रमसँगै राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक छलफलका लागि शीतलनिवास बोलाउनुभएको छ । आज दिउँसो ३ बजे हुने यस त्रिपक्षीय संवादमा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन र सरकारले अघि बढाएको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा गहन छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा विघटनपछि मुलुक निर्वाचनतर्फ धकेलिएको अवस्थामा निर्वाचनको भविष्यलाई लिएर विभिन्न राजनीतिक वृत्तमा आशङ्काहरू उब्जिरहेका बेला राष्ट्रपतिको यो सक्रियतालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी निर्वाचनका लागि आवश्यक कानुनी अड्चन फुकाउन र प्रमुख दलहरूबीच न्यूनतम सहमति कायम गराउन राष्ट्रपतिले मध्यस्थताको भूमिका निभाउन खोज्नुभएको देखिन्छ ।
शीतलनिवास स्रोतका अनुसार, चुनावको निष्पक्षता र समयमै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि तीनै प्रभावशाली नेताहरूसँग राष्ट्रपतिले प्रत्यक्ष सुझाव लिने र संवैधानिक अभिभावकको हैसियतमा आवश्यक परामर्श दिने तयारी गर्नुभएको छ ।















