Logo

८ पुस, वीरगंज। सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वडा नं. १३, नयाँटोल मुर्लीका युवतीहरूका लागि ३ महिने निःशुल्क कपडा सिलाई कटाई तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। युवतीहरूलाई सीपमूलक तालिम दिएर उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन समारोहमा संस्थाकी अध्यक्ष बिध्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी, सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्माले प्रशिक्षक खुश्बु देवीलाई सिलाई कटाईमा प्रयोग हुने आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका सामग्रीहरूमा सियो, धागो, कैँची, ईन्ची टेप, स्केल, पेन्सिल, चौक, र कपि लगायतका विभिन्न शैक्षिक एवं प्राविधिक सामग्रीहरू रहेका छन्।

यो कार्यक्रमबाट जम्मा ३० जना युवतीहरू लाभान्वित हुनेछन्, जसलाई प्रभावकारी सिकाइका लागि १५/१५ जनाको दुईवटा छुट्टाछुट्टै समूहमा विभाजन गरेर तालिम दिइने व्यवस्था मिलाइएको छ। ३ महिनासम्म चल्ने यस सघन तालिमले सहभागी युवतीहरूलाई सिलाई कटाईको सीपमा दक्ष बनाउँदै उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न मद्दत पुऱ्याउने लक्ष्य राखिएको छ। यस्ता सीपमूलक प्रयासले उनीहरूको जीवनस्तर सुधारमा पक्कै पनि सकारात्मक टेवा पुग्ने आशा संस्थाले लिएको छ।

उद्घाटन कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायत स्थानीय भद्र भलाद्मीहरूको समेत उपस्थिति रहेको थियो। उपकार सेवा नेपालले विभिन्न सामाजिक कार्यहरूमा अग्र स्थानमा रही अनेक कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्थानमा निरन्तर सहयोग पुऱ्याउँदै आएको छ।


सम्बन्धित समाचार
भर्खरै