८ पुस, वीरगंज । पर्सा जिल्लाभर शीतलहर र जाडोको प्रकोप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ। केही दिनदेखि जिल्लाका सबै क्षेत्रमा बाक्लो हुस्सु लाग्ने र तापक्रम घट्ने क्रम सुरु भएकाले यसबाट जोगिन प्रशासनले विशेष सुरक्षाका उपायहरू सार्वजनिक गरेको हो।
प्रशासनले जारी गरेको सूचनामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, सीमान्तकृत वर्ग र विपन्न समुदाय चिसोको प्रत्यक्ष जोखिममा रहने भन्दै उनीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।
प्रशासनद्वारा जारी मुख्य सुझाव र निर्देशनहरू:
-
व्यक्तिगत सुरक्षा: न्यानो लुगाको जोहो गर्न, शरीरको सबै भाग ढाक्ने गरी बाक्लो कपडा लगाउन र टाउको तथा छाती अनिवार्य रूपमा ढाक्न भनिएको छ। चिसोबाट बच्न बेलाबेलामा तातो पानी र पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा पिउन सुझाव दिइएको छ।
-
आगो र हिटरको प्रयोगमा सावधानी: कोठाभित्र आगो बालेर तातो पार्दा वा विद्युतीय हिटरको प्रयोग गर्दा झ्याल-ढोका पूर्ण रूपमा बन्द नगर्न प्रशासनले सचेत गराएको छ। पर्याप्त अक्सिजनको अभावमा निसास्सिएर ज्यान जान सक्ने जोखिम हुने भएकाले सुत्नुअघि अनिवार्य रूपमा आगो निभाउन वा हिटर बन्द गर्न निर्देशन दिइएको छ।
-
पशुपन्छीको हेरचाह: घरपालुवा पशुपन्छीलाई खुला स्थानमा नराख्न र पर्याप्त घाँस, पराल तथा दानाको व्यवस्था गर्न भनिएको छ। पशुपन्छी बिरामी भएमा तुरुन्त नजिकैको पशु चिकित्सालयमा सम्पर्क गर्न सुझाइएको छ।
-
सवारी संचालनमा सतर्कता: बाक्लो हुस्सुका कारण सडकमा दृश्यता (भिजिबिलिटी) कम हुने भएकाले सवारी साधन चलाउँदा गति सीमित गर्न, फग लाइट बाल्न र आवश्यक परे हेडलाइट तथा हर्नको प्रयोग गर्न ट्राफिक प्रहरी र प्रशासनले अनुरोध गरेको छ।
ज्वरो आउने, झाडापखाला लाग्ने, खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न समेत प्रशासनले आग्रह गरेको छ। पर्सा जिल्लाबासीको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले शीतलहरको जोखिम न्यूनीकरणका लागि यी उपायहरू कडाइका साथ पालना गर्न सबैमा हार्दिक अनुरोध गरेको छ।
















