Logo

८ पौष, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो अनुसन्धानलाई तीव्र पारेको छ ।

यसै सिलसिलामा आयोगले मंगलबार तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सात दिनभित्र उपस्थित भएर बयान दिन औपचारिक पत्र काटेको छ । आन्दोलनका क्रममा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा भएका कमजोरी र गृह प्रशासनको भूमिकाबारे स्पष्ट पार्न आयोगले लेखकलाई ताकेता गरेको हो । आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्रीको बयानपछि घटनाको संवेदनशीलतालाई हेर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ ।

गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनले मुलुकमा ठूलो धनजनको क्षति पुर्‍याएपछि वर्तमान सरकारले पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आन्दोलन दबाउन प्रयोग गरिएको बल, घटेका घटनाक्रम र सुरक्षा निकायको परिचालनका विषयमा सूक्ष्म अध्ययन गरिरहेको छ ।

तत्कालीन सत्तापक्षका शीर्ष नेतृत्वलाई नै बयानका लागि बोलाइएपछि यो विषयले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। आयोगले तोकिएको समयभित्र बयान लिई घटनाको सत्यतथ्य सहितको प्रतिवेदन सरकारलाई बुझाउने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार
भर्खरै