८ पुस, वीरगञ्ज । देशको तराई क्षेत्रका आठ वटै जिल्ला गम्भीर खडेरीबाट प्रभावित भई सरकारले पहिलो पटक ‘सुख्खा संकट’ घोषणा गरेको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको राहत कार्यक्रमको समीक्षा सुरु भएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (IFRC) सँगको सहकार्यमा DREF (Disaster Relief Emergency Fund) मार्फत सञ्चालित “आपत्कालीन तथा छिटो पुनःस्थापना कार्यक्रम” को प्रभावकारिता मूल्याङ्कन गर्न आजदेखि वीरगञ्जको होटल भिस्वामा दुई दिने “Lessons Learnt Workshop” (पाठ सिकाइ कार्यशाला) सुरु भएको हो।
मधेश प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा सञ्चालित यस कार्यक्रममार्फत हालसम्म करिब ६० हजार खडेरी प्रभावित समुदायलाई आपत्कालीन खानेपानी वितरण र बोरिङ जडान लगायतका गतिविधिबाट प्रत्यक्ष सहयोग पुऱ्याइएको छ।
कार्यशालाको उद्घाटन नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फूल महम्द मियाँको अध्यक्षतामा संयुक्त रूपमा दीप प्रज्वलन गरी गरियो। कार्यक्रममा पर्सा शाखाका सभापति बृज किशोर पटेल, केन्द्रीय निर्देशक पूजा कोइराला, IFRC नेपालका अधिकारी प्रजोल आचार्य, पर्सा कोषाध्यक्ष दया संकर सिंह, कार्यालय प्रमुख बिरसमसेर कुर्मी र उमेश मिश्रा लगायत पर्सा, बारा, रौतहट, सर्लाही र सप्तरीका करिब ४२ जना रेडक्रस पदाधिकारी, कर्मचारी तथा स्वयंसेवकहरूको सहभागिता रहेको छ।
कार्यशालामा नेपाल रेडक्रस सोसाइटीकी निर्देशक पूजा कोइरालाले कार्यक्रमको उपलब्धिमाथि प्रकाश पार्नुभयो। उहाँका अनुसार ६ महिनाको अवधिमा करिब ३ करोड रुपैयाँ बराबरको सहयोग परिचालन गरी आपत्कालीन पिउने पानीदेखि दीर्घकालीन समाधानका लागि बोरिङ जडानसम्मका कार्यहरू गरिएको छ। पर्सा र सप्तरीमा हैजा रोकथामका लागि समेत विशेष गतिविधिहरू सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
निर्देशक कोइरालाले भन्नुभयो, “खडेरी दशकौँदेखिको न्यून लगानी, चुरे कटान, र जलवायु परिवर्तनको परिणाम हो। रेडक्रसले प्रकृति र प्रविधिसँग मेल खाने समाधानका लागि सहकार्य गरिरहेको छ।” उहाँले जलवायु संकटलाई कवितामार्फत प्रस्तुत गर्दै “आगो पिएर पानी उमार्ने” दृढ संकल्पका साथ अघि बढ्न आह्वान गर्नुभयो।
कार्यशालाको पहिलो दिन सहभागीहरूले राहत वितरण र स्थानीय तहसँगको समन्वय सफल रहेको अनुभव साटेका छन्। यद्यपि, सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ र मौसमी अनिश्चितता कार्यक्रम कार्यान्वयनका मुख्य चुनौतीका रूपमा देखिएका छन्।
आयोजकका अनुसार यो कार्यशाला भोलि बुधबारसम्म चल्नेछ। कार्यशालाबाट प्राप्त निष्कर्षलाई आगामी दिनमा विपद् पूर्वतयारी र उत्थानशीलता निर्माणका लागि ठोस मार्गचित्र बनाउन प्रयोग गरिनेछ।















