Logo

८ पौष, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुरक्षा प्रशासनका तीन जना उच्च अधिकारीमाथि लगाइएको स्थानहद (बन्देज) फुकुवा गरेको छ ।

आयोगले मंगलबार एक पत्र जारी गर्दै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद हटाउने निर्णय गरेको हो । बयान प्रक्रिया पूरा भएपछि आयोगका उपसचिव कमलप्रसाद पाण्डेले उनीहरूलाई अब विदेश भ्रमण गर्न र आफ्नो कार्यक्षेत्र बाहिर जान कुनै रोकावट नरहेको जानकारी दिनुभएको छ ।

आन्दोलनका क्रममा भएको क्षति र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेपछि आयोगले अनुसन्धान नसकिँदासम्मका लागि यी उच्च अधिकारीहरूलाई निश्चित क्षेत्रभन्दा बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो । यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको पनि बयान सम्पन्न भएपछि उनको स्थानहद फुकुवा गरिसकिएको छ । आयोगले तत्कालीन नीतिगत र सुरक्षा तहका नेतृत्वसँगको सोधपुछलाई अन्तिम चरणमा पुर्‍याएसँगै बिस्तारै प्रशासनिक अधिकारीहरूमाथिको बन्देज खुकुलो पार्दै लगेको देखिन्छ, जसले अबको अनुसन्धान तत्कालीन राजनीतिक नेतृत्वतर्फ केन्द्रित हुने संकेत गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै