८ पौष, काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ शीतल निवासमा एउटा महत्वपूर्ण र ब्रेकथ्रु मानिएको संवाद सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष सक्रियतामा प्रधानमन्त्री सुशीला कार्की र देशका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच पहिलो पटक सामूहिक छलफल भएको हो । भदौको जेनजी आन्दोलनपछि सत्ता सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड सँग अहिलेसम्म संवाद गर्नुभएको थिएन । लामो समयदेखिको यो संवादहीनता चिर्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री र शीर्ष तीन नेतालाई एकै ठाउँमा जुटाउनुभएको हो ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरे पनि प्रमुख दलहरूसँगको समन्वय अभावका कारण चुनावको भविष्यलाई लिएर चौतर्फी आशंका उब्जिएका थिए। प्रधानमन्त्री कार्कीले दलका दोस्रो र तेस्रो तहका नेताहरूसँग मात्र सम्पर्क राखेर शीर्ष नेतृत्वलाई उपेक्षा गरेको भन्दै राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको सन्दर्भमा यो भेटघाटलाई निकै अर्थपूर्ण मानिएको छ ।
निर्वाचनका लागि आवश्यक कानुनी संशोधन, राजनीतिक सहमति र मुलुकलाई निकास दिने विषयमा अहिले शीतल निवासमा घनीभूत छलफल भइरहेको छ । राष्ट्रपतिको यो मध्यस्थताले सरकार र प्रमुख प्रतिपक्षी तथा अन्य दलहरूबीचको चिसिएको सम्बन्धलाई सुधार्ने र चुनावी वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।















