Logo

९ पौष, काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको तापक्रममा गिरावट आएसँगै तराईका अधिकांश जिल्लाहरू बाक्लो हुस्सु र कुहिरोले ढाकिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो भूभागमा आज दिनभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार कोशी प्रदेशको तराई भूभागमा मध्यान्नसम्म कुहिरो लागे पनि बाँकी तराईका क्षेत्रमा भने दिनभरि नै मौसम नखुल्ने देखिएको छ। बाक्लो कुहिरोका कारण दृष्यता (Visibility) कम हुँदा सडक तथा हवाई यातायात सेवा नराम्ररी प्रभावित भएका छन्।

सडकमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन् भने विमानस्थलहरूमा उडान र अवतरणमा समेत ढिलाइ भइरहेको छ। चिसो र हुस्सुका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र वृद्धवृद्धाहरू सबैभन्दा बढी मारमा परेका छन्।

तराईमा कुहिरोको साम्राज्य रहे पनि पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। दिउँसो घाम लाग्ने भए तापनि बिहानी र रातिको समयमा भने ती क्षेत्रमा पनि चिसो बढ्ने देखिएको छ। आज राति पनि तराईमा कुहिरोको यही सिलसिला कायमै रहने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले कुहिरो र हुस्सुका कारण स्वास्थ्यमा समस्या पर्न सक्ने, चिसोले जनजीवन कष्टकर बन्ने र यातायातमा जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन विशेष अनुरोध गरेको छ। सडक र हवाई यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र निस्कन, चिसोबाट बच्न न्यानो लुगा लगाउन र तातो खानपानमा ध्यान दिन, बाक्लो कुहिरोमा सवारी चलाउँदा ‘फग लाइट’ को प्रयोग गर्न र गति सीमित राख्न महाशाखाले अनुरोध गरेको छ।

चिसो अझै केही दिन बढ्ने देखिएकाले तराई–मधेसका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।


सम्बन्धित समाचार