Logo

९ पौष, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा मुख्य रूपमा छलफल हुने पार्टी स्रोतले जनाएको छ।

१५औँ महाधिवेशनका लागि तोकिएको समयभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम पूरा हुन नसकेपछि कांग्रेसले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्ने तयारी गरेको हो। सोही सन्दर्भमा आजको बैठकले आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

पार्टीभित्र वडा अधिवेशनको मितिलाई लिएर फरक–फरक धारणा देखिएका छन्। संस्थापन पक्ष आगामी माघ २ गते वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ गते नै वडा अधिवेशन गर्नुपर्ने अडान लिएका छन्।

यसअघि मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पुस १६ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो। तर क्रियाशील सदस्यता सम्बन्धी काम समयमै नसकिएपछि उक्त निर्णय कार्यान्वयनमा आउन नसकेको हो।

आजको बैठकले महाधिवेशन कार्यतालिका र वडा अधिवेशनको नयाँ मिति टुंग्याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार