९ पौष, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि बैंक तथा वित्तीय संस्थाहरूको लाभांश घोषणा गर्ने सिजन सकिएसँगै लगानीकर्ताहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
यसपटक सञ्चालनमा रहेका १९ सूचीकृत वाणिज्य बैंकहरूमध्ये १३ वटाले मात्र लाभांश वितरण गर्ने निर्णय गरेका छन् भने ६ वटा बैंकले आफ्ना सेयरधनीहरूलाई रित्तो हात बनाएका छन् । यस वर्षको तथ्याङ्कलाई केलाउँदा बैंकहरूको औसत लाभांश ६.६२ प्रतिशत मात्र देखिएको छ । नाफा आर्जन गरेर पनि वितरणयोग्य कोष भएका बैंकहरूले समेत आफ्नो पूर्ण क्षमताअनुसार लाभांश नदिँदा बोनस सेयरभन्दा नगद लाभांशमै बढी जोड दिएको पाइएको छ ।
बैंकिङ क्षेत्रमा एभरेष्ट बैंक यस वर्ष सबैभन्दा उदार देखिएको छ, जसले २० प्रतिशत लाभांश घोषणा गरेको छ। यद्यपि, सो बैंकको लाभांश दिन सक्ने वास्तविक क्षमता ३८.२७ प्रतिशत रहेको विवरणमा देखिएको थियो । त्यस्तै, १९.८५ प्रतिशत क्षमता भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश वितरण गर्दा कृषि विकास बैंकले १३ र नबिल बैंकले १२.५० प्रतिशत लाभांशमा चित्त बुझाएका छन् । क्षमता हुँदाहुँदै पनि बैंकहरूले लाभांश घोषणामा देखाएको यो सङ्कुचनले बजारमा विशेष चर्चा पाएको छ ।
यस वर्ष सिद्धार्थ, लक्ष्मी सनराइज र एनएमबि बैंकले दोहोरो अङ्कमा लाभांश बाँड्दा अन्य ६ वटा बैंकहरू भने एकल अङ्कको लाभांशमा सीमित भएका छन्। नेपाल एसबीआई, प्राइम कमर्शियल, ग्लोबल आईएमई, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकले ५ देखि ९ प्रतिशतको हाराहारीमा मात्र प्रतिफल दिएका छन् । विशेषगरी सानिमा बैंकको लाभांश क्षमता २० प्रतिशतभन्दा माथि भए तापनि ७.३६ प्रतिशत मात्र लाभांश घोषणा हुनुले बैंकहरू अहिले बोनस सेयरमार्फत पुँजी बढाउनभन्दा पनि तरलता व्यवस्थापनमा केन्द्रित भएको सङ्केत गर्दछ ।
बैंकहरूले बोनस सेयर घोषणामा देखाएको यस किसिमको कन्जुस्याईका पछाडि पुँजीकोष अनुपातको दबाब र बजारमा कर्जाको मागमा आएको कमीलाई मुख्य कारण मानिएको छ । कर्जा लगानी सुस्ताएको र खराब कर्जा व्यवस्थापनको चुनौतीका कारण बैंकहरूले आफ्नो पुँजीगत आधारलाई सुदृढ राख्न बोनस सेयर वितरणमा सावधानी अपनाएका हुन् । यसले गर्दा बैंकका संस्थापक र सर्वसाधारण सेयरधनीहरूले विगतका वर्षहरूको तुलनामा निकै कम प्रतिफलमा चित्त बुझाउनुपरेको छ ।















