Logo

९ पौष, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते नै हुने ठोकुवा गर्दै यसमा कुनै पनि प्रकारको आशंका नगर्न आग्रह गर्नुभएको छ ।

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा होमिएको स्पष्ट पार्नुभयो । मुलुकको वर्तमान संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरण निर्माण गर्न र स्वच्छ प्रतिस्पर्धाका लागि तोकिएकै समयमा निर्वाचन अपरिहार्य रहेको उहाँको तर्क थियो ।

मन्त्री अर्यालले देशलाई पुनः द्वन्द्वको भुमरीमा फस्न नदिन सरकारको मूल रणनीति रहेको उल्लेख गर्दै मूलधारका सबै राजनीतिक दलहरूलाई चुनावको तयारीमा जुट्न आह्वान गर्नुभयो । संसद् विघटन भएको ६ महिनाभित्रै नयाँ जनादेशमा जानुपर्ने संवैधानिक बाध्यता रहेको स्मरण गराउँदै उहाँले सुरक्षा चुनौतीहरूलाई चिर्दै फागुन २१ को मितिभित्रै मतदान सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मौसमी प्रतिकूलता वा अन्य बाधा–व्यवधान आए तापनि घोषित मितिमै चुनाव गराउन सरकार दृढ रहेको उहाँको दाबी थियो ।

विशेषगरी ‘जेन–जी’ पुस्ताको असन्तुष्टि र आन्दोलनलाई सम्बोधन गर्दै गृहमन्त्रीले नयाँ पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनु नै अहिलेको आवश्यकता भएको बताउनुभयो । जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूको पहिचान गरी नामावली राजपत्रमा प्रकाशन गरिसकिएको र परिवारलाई राहत दिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । समृद्धि र सुशासनका लागि युवा पुस्ताको भूमिका महत्त्वपूर्ण हुने भन्दै उहाँले दलहरूलाई समेत आफ्ना संरचनामा युवाहरूलाई उचित स्थान दिन सुझाव दिनुभयो ।

कर्णाली प्रदेशको सुरक्षा अवस्था र निर्वाचन केन्द्रित तयारीका बारेमा छलफल गर्न आयोजित उक्त गोष्ठीमा गृहमन्त्रीले शान्ति सुरक्षा सुदृढ बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो । निर्वाचनको समयमा हुन सक्ने सम्भावित गतिविधिमाथि सूक्ष्म निगरानी राख्न आग्रह गर्दै उहाँले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार