Logo

९ पौष, काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको थुप्रो लागेर कुल निक्षेप ७५ खर्ब रुपैयाँ नाघिसकेको वर्तमान अवस्थामा ब्याजदरलाई सन्तुलनमा राख्न र अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले १६ दिनका लागि यो रकम संकलन गर्न लागेको हो । बुधबार दिउँसो अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल प्रक्रिया सुरु गरिने र यसमा क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन पाउने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनका लागि ल्याइएको यो उपकरणको ब्याजदर बोलकबोलकै माध्यमबाट तय हुनेछ। जसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गरिने कार्यविधि रहेको छ । सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको सीमाभित्र रहेर ५ करोड रुपैयाँले भाग जाने अंकमा बोलकबोल गर्नुपर्नेछ । यसरी संकलन गरिएको निक्षेपको सावाँ र ब्याज आगामी २०८२ पुस २५ गते भुक्तानी गरिने तालिका राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

पछिल्लो समय कर्जाको माग सुस्त हुनु र निक्षेप संकलन बढ्नुले बैंकिङ प्रणालीमा संरचनात्मक अधिक तरलताको स्थिति सिर्जना भएको छ । यसै स्थितिलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार पटक–पटक निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाको प्रयोग गर्दै आएको छ । बजारमा पैसाको आपूर्ति धेरै हुँदा ब्याजदर अस्वाभाविक रूपमा ओरालो लाग्न नदिन र वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंकले यो अल्पकालीन उपकरण प्रयोग गरेको अर्थविद्हरूको विश्लेषण छ ।


सम्बन्धित समाचार