Logo

९ पुष, वीरगन्ज । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा २५ वर्षीय सुदामा पासवान र ३२ वर्षीय विवेकलाल साह कानूलाई पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बारा जिल्लाको विश्रामपुर गाउँपालिका–४ का सुदामा पासवान गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी काठमाडौँ हुँदै वीरगन्ज पुगेको अनुसन्धानबाट खुलेको र उनलाई वीरगन्ज महानगरपालिका–१५ भिष्वा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिए।

त्यस्तै, बैंकिङ कसूर मुद्दामा धरौटी तिर्न नसकेर कारागार चलान भएका बारा जिल्लाको परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानू पनि गत भदौ २४ गते काठमाडौँबाट फरार भएका थिए। उनलाई वीरगन्ज महानगरपालिका–४ विर्ताटोल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगन्ज कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।


सम्बन्धित समाचार