९ पौष, काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकामा विकास निर्माणको ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक सञ्जयकुमार साहमाथि आपसी मिलेमतोमा सरकारी कोषको दुरुपयोग गरेको अभियोग लागेको हो । आर्थिक वर्ष २०८०/८१ को सडक कालोपत्रे गर्ने ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै उनीहरूले राज्यलाई हानि पुर्याएको अख्तियारको दाबी छ ।
आयोगका अनुसार बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्मको सडक निर्माणका लागि बोलपत्र आह्वान गर्दा सर्वसाधारण र अन्य प्रतिस्पर्धीले थाहा नपाउने गरी सूचना लुकाइएको थियो । उनीहरूले सेटिङ मिलाएर आफ्नो नजिकको व्यक्तिलाई ठेक्का सुम्पिनका लागि जन प्रतिबिम्ब दैनिकको एक विशेष प्रतिमा मात्र सूचना छापेको भ्रम सिर्जना गरेका थिए । तर, आयोगको अनुसन्धानका क्रममा प्रेस काउन्सिलमा बुझाइएको सोही मितिको पत्रिकाको हार्डकपी र पीडीएफ दुवै संस्करणमा कतै पनि बोलपत्रको सूचना फेला परेन । यसले पत्रिकामा सूचना प्रकाशित नै नगरी झुटा कागजात खडा गरी कीर्ते काम गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
प्रकाशित नै नभएको सूचनाको विज्ञापनबापत नगरपालिकाको ढुकुटीबाट ६५ हजार रुपैयाँ भुक्तानी लिएको र सो प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत र लेखापालले आँखा चिम्लेर सहयोग गरेको पाइएको छ । अख्तियारले तीनै जनाविरुद्ध ६५ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही र सजायको माग गरेको छ । सानो रकमको विज्ञापनमा भएको यो सेटिङले ठुलो राशिको सडक ठेक्कालाई कसरी प्रभावित पारिएको थियो भन्ने विषयमा समेत थप कानुनी बहस सुरु भएको छ ।















