Logo

९ पौष, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफ्नो कार्यकालको पहिलो सय दिनका उपलब्धिहरूको फेहरिस्त सार्वजनिक गरेका छन् ।

भाषणभन्दा नतिजालाई प्राथमिकता दिएको दाबी गर्दै उनले तीनवटै मन्त्रालयका तर्फबाट सम्पादन भएका १०१ वटा महत्त्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन् । कार्यभार सम्हालेको यो छोटो अवधिमा आफू मन्त्रालयको कार्यकक्षमा मात्र सीमित नभई विकास आयोजनाका वास्तविक समस्या बुझ्न निर्माणस्थलमै पुगेर काम गरेको उनले बताए । १४ वर्षसम्म पुल नबन्ने जस्ता ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले फिल्डमै गएर निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने शैलीले आयोजनाहरूमा गति आएको जिकिर गरे ।

मन्त्री घिसिङले सार्वजनिक गरेको सूचीमा विशेषगरी ऊर्जा क्षेत्रका ठूला उपलब्धिहरू समेटिएका छन् । भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात हुनुलाई यस अवधिको ठूलो सफलताका रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै, लामो समयदेखि विवादित डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम बक्यौतालाई किस्ताबन्दीमा असुल गर्ने प्रक्रिया सुरु गरिएको र बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको विषयलाई उनले महत्त्वका साथ उल्लेख गरेका छन् । माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय ढाँचा तयार हुनु र मौसम सम्बन्धी विशेष बुलेटिनको नियमित प्रकाशनलाई पनि उनले आफ्नो सय दिनको उपलब्धिमा राखेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ मन्त्री घिसिङले रुग्ण ठेक्काहरूमाथि कडा कदम चालेको देखिएको छ। उनले वर्षौँदेखि काम अलपत्र पार्ने ४० वटा रुग्ण ठेक्का तोडेका छन् भने अन्य धेरै ठेक्काहरू तोड्ने प्रक्रियामा रहेको जानकारी दिएका छन्। कोटेश्वर चोकको ट्राफिक जाम सुधारका लागि जापान सरकारसँग करिब ३५ अर्ब येन बराबरको ऋण सम्झौता हुनु र बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणलाई तीव्रता दिनुलाई उनले भौतिक पूर्वाधार क्षेत्रको मुख्य उपलब्धि मानेका छन् । आलोचनाबाट नडराई र गलतसँग सम्झौता नगरी आफूले जनताको सेवकका रूपमा कर्तव्य पूरा गरिरहेको उनको भनाइ छ।


सम्बन्धित समाचार