Logo

१० पौष, वीरगञ्ज । बाराको कलैयामा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ। सञ्चार क्षेत्रको वर्तमान अवस्था, देखिएका चुनौती तथा समाधानका सम्भावित उपायहरूबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यम समाजको ऐना भएको उल्लेख गर्दै बदलिँदो प्रविधि र जनसांख्यिक परिवेशसँगै सञ्चार क्षेत्रले नयाँ–नयाँ चुनौतीको सामना गरिरहेको बताए। उनले गुणस्तरीय, तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताको सुनिश्चितता आजको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गरे।

“डिजिटल सञ्चारमाध्यमको प्रभाव तीव्र रूपमा बढिरहेको छ। यससँगै पत्रकारहरूको सुरक्षा, व्यावसायिक मर्यादा र सञ्चार क्षेत्रको दिगो विकासतर्फ पनि ध्यान दिन आवश्यक छ,” सोनलले भने। उनले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र सञ्चारकर्मीहरूलाई आधुनिक प्रविधिसँग अद्यावधिक हुन आग्रह गरे।

मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायत बारा र पर्साका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले सञ्चार क्षेत्रले भोगिरहेका समसामयिक समस्या, प्रेस स्वतन्त्रता, आर्थिक चुनौती, डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका थिए।

मिडिया काउन्सिलका प्रतिनिधिहरूले यस्ता अन्तरक्रियाले सञ्चारकर्मीलाई गुणस्तरीय, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषणमा थप सचेत बनाउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।


सम्बन्धित समाचार