१० पौष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१औँ दीक्षान्त समारोह आज भव्य रूपमा आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो।
समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए। टोकियो विश्वविद्यालयमा आबद्ध काजिता न्युट्रिनो अनुसन्धानका लागि विश्वप्रसिद्ध वैज्ञानिक हुन्।
उपकुलपति प्रा. डा. अर्यालका अनुसार दीक्षान्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बसाइ व्यवस्थापनलगायत सबै पूर्वतयारी सम्पन्न गरिएको छ।
यसपटक त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका छन्। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ।
समारोहमा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ। यस वर्ष त्रिविबाट मानविकी सङ्कायमा १४ हजार ८५१, व्यवस्थापनमा ४३ हजार ६१०, कानुनमा दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।
नोबेल पुरस्कार विजेता प्रमुख अतिथिका रूपमा सहभागी हुने दीक्षान्त समारोहले त्रिविको शैक्षिक गरिमा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।















