१० पुष, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी निर्वाचनलाई लक्षित गरी नयाँ र उदाउँदो राजनीतिक शक्तिहरूलाई गोलबन्द गर्ने प्रयास तीव्र पारेका छन् ।
यसै सिलसिलामा बुधबार राति ललितपुरको कुपण्डोलस्थित निवासमा बालेन र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पहिलो चरणको उच्चस्तरीय राजनीतिक भेटवार्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एकजुट भएर जानुपर्नेमा दुवै नेताले जोड दिएका छन् भने भेटलाई चौधरीले सकारात्मक र वैचारिक सामीप्यताको सुरुवातका रूपमा व्याख्या गरेका छन् । देश गम्भीर राजनीतिक संकटमा रहेको र पुराना दलहरूबाट अब निकास सम्भव नरहेको निष्कर्ष निकाल्दै दुवै नेताले युवा र नयाँ नेतृत्वको काँधमा मुलुक जोगाउने जिम्मेवारी आएकोमा समान धारणा व्यक्त गरेका छन् ।
भेटका क्रममा चुनावी सहकार्यको मोडालिटीबारे प्रारम्भिक छलफल भए पनि एकता वा गठबन्धनको ठोस स्वरूपबारे थप संवाद आवश्यक रहेको चौधरीले बताएका छन् । बालेनले देशभरका युवाहरूको चाहना अनुसार नयाँ दलहरूबीच मोर्चाबन्दीको प्रस्ताव अघि सारेका थिए, जसमा चौधरीले आफू पनि नयाँ शक्तिहरू जोड्ने अभियानमै रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘जेन–जी’ आन्दोलनपछिको बदलिँदो राजनीतिक परिवेशमा पुराना दलहरूको विकल्पमा फरक धारको बलियो शक्ति निर्माण गर्न बालेनले रास्वपा सभापति रवि लामिछानेलगायत अन्य अभियन्ताहरूसँग पनि संवाद जारी राखेका छन् । चौधरीले आगामी निर्वाचनमा १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेको आफ्नो पार्टी विचार मिल्ने शक्तिहरूसँग तालमेल गर्न खुला रहेको संकेत दिएका छन् ।
मुलुकमा वैकल्पिक राजनीतिको लहर ल्याउने दाबी गरिरहेका यी दुई नेताको भेटले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । बालेनले आफ्नै नेतृत्वमा ुदेश विकास पार्टीु मार्फत राजनीतिलाई नयाँ दिशा दिने गृहकार्य गरिरहेको सन्दर्भमा रेशम चौधरीसँगको यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
चौधरीका अनुसार आगामी निर्वाचनमा कसैले नसोचेको परिणाम ल्याउनका लागि नयाँ शक्तिहरूबीचको यो सामीप्यतालाई निरन्तरता दिइनेछ । पुराना राजनीतिक संरचनालाई विस्थापित गरी नयाँ ुउत्सवु को अनुभूति जनतालाई गराउन आफूहरू तयार रहेको दाबी गर्दै दुवै नेताले अबको निकास जनअपेक्षा पूरा गर्ने खालको हुनुपर्नेमा प्रतिबद्धता जनाएका छन् ।















