१० पुष, काठमाडौं । मुलुकको राजनीतिमा संसद् पुनःस्थापनाको बहसले तीव्रता पाइरहेका बेला नेपाली कांग्रेसका नेता सुनिल शर्माले पनि यस प्रक्रियामा आफ्नो सक्रियता बढाएका छन् ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० सँग भएको उच्चस्तरीय भेटवार्तापछि नेता शर्माले अहिलेको मुख्य एजेन्डा संसद् पुनःस्थापना नै रहेको स्पष्ट पारेका छन् । कुपण्डोलमा भएको उक्त त्रिपक्षीय संवादमा वर्तमान राजनीतिक गतिरोधको निकासका लागि विघटित प्रतिनिधिसभा ब्युँताउनुको विकल्प नरहेको विषयमा केन्द्रित रहेर छलफल भएको उनले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
पछिल्लो समय कांग्रेस र एमालेले संसद् पुनःस्थापनाका लागि कानुनी र राजनीतिक कसरत गरिरहेका बेला कांग्रेसकै प्रभावशाली नेता शर्माको वैकल्पिक शक्तिहरूसँगको यो उठबसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटपछि प्रतिक्रिया दिँदै शर्माले आफू १० वर्षपछिको कांग्रेस सभापतिको दाबेदार रहेको बताउँदै पार्टी छोडेर नयाँ दलमा जाने हल्लाको भने खण्डन गरे । उनले आफू कांग्रेसभित्रै रहेर पनि मुलुकलाई संवैधानिक ट्र्याकमा ल्याउन र संसद् पुनःस्थापनाको पक्षमा अन्य शक्तिहरूसँग सहकार्य गर्न तयार रहेको सन्देश दिएका छन् ।
भेटका क्रममा रवि लामिछाने र बालेन शाहले अघि सारेका राजनीतिक विकल्पहरू र कांग्रेस–एमालेको पुनःस्थापना सम्बन्धी रोडम्यापका बीचमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको बुझिएको छ। नेता शर्माले समसामयिक राजनीतिक संकट टार्न नयाँ र पुराना शक्तिहरूबीच एउटा साझा विन्दु पहिल्याउनुपर्नेमा जोड दिएका छन् । यो भेटले एकातिर कांग्रेसभित्रको आन्तरिक समीकरण र अर्कोतिर वैकल्पिक शक्तिहरूसँगको बढ्दो सामीप्यतालाई थप प्रस्ट पारेको छ, जसको केन्द्रमा संसद् पुनःस्थापनाको एजेन्डा बलियो गरी स्थापित भएको देखिन्छ ।















