Logo

१० पुस, काठमाडौं । नेपाली राजनीतिको आगामी दिशा तय गर्ने ठानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको निर्णायक वार्ता चलिरहँदा ललितपुरको कुपण्डोलमा एउटा रोचक र नाटकीय दृश्य देखिएको छ ।

मेयर शाहका सहयोगी कुमार बेनको घरमा दुई नेताबीच संवाद सुरु भएलगत्तै ‘जेनजी’ अभियन्ता सुदन गुरुङले दुई नेता नमिलेसम्म बाहिर निस्कन नपाउने भन्दै घरको मुख्य गेटमै ताला लगाइदिएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै गुरुङले जबसम्म दुई नेताबीच ठोस सहमति र एकता हुँदैन, तबसम्म गेटको साँचो नखोलिने अडान राखेका हुन् ।

भिडियो सन्देशमा गुरुङले आफूहरू अहिलेका लागि सुरक्षागार्ड बनेर गेटमै बसेको र साँचो आफ्नो साथमा रहेको जानकारी दिएका छन् । भित्र रवि र बालेनबीच आगामी निर्वाचनको रणनीतिक सहकार्य र शक्ति बाँडफाँटका विषयमा घनीभूत छलफल भइरहेको बुझिएको छ । यसअघिका संवादहरू निष्कर्षविहीन भएपछि युवा समर्थकहरूले एकताका लागि दबाब दिन यो अनौठो शैली अपनाएका हुन् । ‘हाम्रा दुई नेताहरू भित्र हुनुहुन्छ, जबसम्म उहाँहरू मिल्नुहुन्न, तबसम्म यो ढोका खुल्दैन,’ भन्दै गुरुङले एकताको सन्देश लिएर मात्र दुई नेता बाहिर आउनुपर्ने सर्त राखेका छन् ।

यो वार्तालाई वैकल्पिक राजनीतिको भविष्यका लागि ुनिर्णायकु मानिएको छ । बालेनले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न खोजिरहेका छन् भने रास्वपाले पनि आफ्नो नेतृत्वको दाबी नछोडेका कारण कुरा मिल्न बाँकी थियो । तर, समर्थकहरूको यो ताला दबाबले दुई नेतालाई कुनै न कुनै विन्दुमा सहमति गर्न बाध्य पार्ने देखिन्छ ।

बाहिर समर्थकहरूको पहरा र भित्र नेताहरूको मन्थनले कुपण्डोलको त्यो घर अहिले नेपालको राजनीतिक चासोको केन्द्र बनेको छ । दुई चर्चित युवा नेताहरू ‘हात मिलाएर’ बाहिर निस्कन्छन् वा विवाद कायमै रहन्छ भन्ने विषयले आगामी निर्वाचनको समीकरणमा ठूलो अर्थ राख्नेछ ।


सम्बन्धित समाचार
भर्खरै