Logo

१० पुष, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रणनीतिक तयारीका लागि ललितपुरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको निर्णायक वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।

झण्डै तीन घण्टा लामो सघन छलफलपछि बैठकस्थलबाट बाहिरिने क्रममा सभापति लामिछानेले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै संवाद निकै उत्साहजनक र सकारात्मक रहेको बताउनुभयो । यो भेटघाटले आगामी निर्वाचनमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै कित्तामा ल्याउने प्रयासमा बलियो आधार तयार पारेको विश्लेषण गरिएको छ ।

यस पटकको वार्ता केवल रवि र बालेनमा मात्र सीमित नभई अन्य प्रभावशाली व्यक्तित्वहरूको उपस्थितिले अझ बृहत् बनेको थियो। छलफलमा ‘उज्यालो पार्टी नेपाल’ का संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह र नेपाली कांग्रेसका नेता सुनिल शर्मा समेत सहभागी हुनुहुन्थ्यो । यसका साथै युवा पुस्ताको प्रतिनिधित्व गर्दै जेन–जी अभियन्ताहरू सुदन गुरुङ, रक्षा बम र पुरुषोत्तम यादवको पनि सक्रिय सहभागिता रहेको थियो । फरक–फरक पृष्ठभूमिका तर वैकल्पिक धारमा विश्वास राख्ने यी शक्तिहरूबीचको ‘पावर शेयरिङ’ र साझा चुनावी एजेन्डामा केन्द्रित यस मन्थनले पुराना दलहरूका विरुद्ध एउटा शक्तिशाली मोर्चा बन्ने सम्भावनालाई थप मजबुत बनाएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार नयाँ शक्तिहरू विभाजित हुँदा त्यसको फाइदा पुराना दलहरूलाई पुग्ने निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा सकेसम्म एउटै चुनाव चिह्न वा साझा उम्मेदवारी दिने विषयमा गम्भीर छलफल भएको छ । बाहिर समर्थकहरूले एकताको दबाब दिइरहेका बेला भित्र भएको यो बहुपक्षीय संवादले नेपालको राजनीतिमा नयाँ चुनावी समीकरणको संकेत दिएको छ ।
रवि लामिछानेले छलफल सकारात्मक भएको भनी दिएको प्रतिक्रियाले चाँडै नै कुनै ठोस सहमति सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ, जसले फागुनको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने निश्चित गरेको छ।


सम्बन्धित समाचार
भर्खरै