१० पुस, काठमाडौं । आगामी १५औँ महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले आफ्नो संगठन सुदृढीकरण अभियान अन्तर्गत डेढ लाख नयाँ क्रियाशील सदस्य थपेको छ ।
महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार हालसम्म १ लाख ५० हजार नयाँ सदस्यहरूको विवरण केन्द्रीय सर्भरमा प्रविष्ट (इन्ट्री) भइसकेको छ । पार्टीले यसपटक शतप्रतिशत नयाँ सदस्य थप्ने उदार रणनीति लिएको छ, जसअन्तर्गत देशभर ६ लाख नयाँ फारमहरू पठाइएका थिए । यसअघि १४औँ महाधिवेशनमा ८ लाख ६७ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको कांग्रेसले यसपटक सदस्यता वितरणको प्रावधानलाई केही खुकुलो बनाउँदै व्यापक रूपमा नयाँ र युवा पुस्तालाई समेट्ने प्रयास गरिरहेको छ ।
सदस्यता वितरणको यो प्रक्रियामा केही प्राविधिक र आन्तरिक विवादका कारण केही जिल्लामा भने ढिलाइ भएको छ। भदौमा भएको जेनजी आन्दोलनपछि पठाइएका ४ लाख फारमहरूमा सिरियल नम्बर नभएको पाइएपछि ती रद्द गरेर पुनः नयाँ फारम पठाउँदा प्रक्रिया केही पछि धकेलिएको व्यवस्थापन समितिले जनाएको छ। समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार बिहीबार साँझसम्म सबै क्षेत्रमा फारम पठाइसक्ने लक्ष्य राखिए पनि खोटाङ र बारा क्षेत्र नम्बर १ मा भने अझै फारम पुग्न सकेको छैन। खोटाङका जिल्ला सभापति अनुशासनको कारबाहीमा परी निलम्बनमा रहेका कारण त्यहाँ सदस्यता नवीकरण र नयाँ वितरणको काम ठप्प छ भने बारामा वर्षौँदेखिको आन्तरिक विवाद कायमै छ ।
कांग्रेसले यसपटक पुरानो संरचनालाई भत्काउँदै नयाँ जोशका साथ अघि बढ्न खोजेको देखिन्छ । सदस्यता व्यवस्थापन समितिले बाँकी क्षेत्रबाट पनि विवरण आउने क्रम जारी रहेको र प्रक्रिया पुर्याएर माग गर्ने क्षेत्रहरूमा थप फारम पठाउन सकिने स्पष्ट पारेको छ । १५औँ महाधिवेशनका लागि नवीकरणको काम अझै बाँकी रहेकाले फागुनको चुनावी चटारोअघि नै सदस्यताको अन्तिम टुङ्गो लगाउने कांग्रेसको कसरत देखिन्छ।















