Logo

१० पुष, वीरगञ्ज । वीरगञ्ज क्वाइनोनिया मण्डलीको आयोजनामा ख्रीष्टमस पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मण्डलीका अध्यक्ष राज कुमार घिमिरेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसियाले ख्रीष्टमसले समाजमा प्रेम र एकताको सन्देश दिने बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ख्रीष्टमस पर्व केवल एउटा समुदायको मात्र नभई प्रेम, शान्ति, सहअस्तित्व र आपसी सद्भावको प्रतीक भएको उल्लेख गरे। यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास उनीहरूले व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिक, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, र क्वाइनोनिया मण्डलीका सल्लाहकार मार्तिन मोक्तान रहनुभएको थियो।

त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, सञ्चारकर्मीहरू युवराज खड्का, तुल्शी भण्डारी, अभिलाष गुप्ता तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति रहेको थियो।

ख्रीष्टियन समाजका सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा स-साना बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। बालबालिकाको मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो भने उपस्थित अतिथिहरूलाई समेत मन्त्रमुग्ध पारेको थियो।

ख्रीष्टमसको शुभकामना साटासाट गर्दै सौहार्दपूर्ण र खुसीयालीपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै