Logo

११ पौष, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बुधबारदेखि सुरु भएको बैठकमा बिहीबार पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको काम अबको १६ दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सदस्यता टुंग्याएर वडा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए।

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय सबैले पालना गर्नुपर्नेमा जोड दिँदै आवश्यकता अनुसार महाधिवेशनको मिति केही दिन हेरफेर हुनसक्ने संकेतसमेत गरेका छन्।

आजको बैठकमा क्रियाशील सदस्यता, महाधिवेशन कार्यतालिका र संगठनात्मक विषयमा थप छलफल हुने पार्टी स्रोतले जनाएको छ।


सम्बन्धित समाचार