११ पौष, काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। खरेल शुक्रबार बिहान महाराजगञ्जस्थित देउवाको निवासमा पुगेर भेट गरेका हुन्।
भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहमतिको सम्भावनाबारे छलफल भएको बताइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्ने विषयमा सरकार र प्रमुख राजनीतिक दलबीच समन्वय आवश्यक रहेकोमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ।
सरकारले निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेतासँग सघन संवाद थालेको जनाइएको छ। सोही क्रममा मन्त्री खरेलले शुक्रबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
सरकारका अनुसार निर्वाचन प्रक्रिया, सुरक्षा व्यवस्था, प्रशासनिक तयारी र राजनीतिक सहकार्यका विषयमा साझा धारणा निर्माण गर्न शीर्ष तहमा छलफललाई तीव्रता दिइएको हो। आगामी निर्वाचनलाई लिएर सरकार र प्रमुख दलबीच निरन्तर संवाद जारी रहने बताइएको छ।















