Logo

११ पुष, काठमाडौं । काठमाडौंको राजनीतिक वृत्तमा यतिबेला नयाँ तरंग पैदा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको संवादले निर्णायक मोड लिएको छ । यी दुई प्रभावशाली युवा नेताहरूबीच पार्टी एकता वा दीर्घकालीन सहकार्यको औपचारिक घोषणा आज शुक्रबार रातिसम्म हुने बलियो सम्भावना देखिएको छ । पछिल्ला केही दिनदेखि जारी सघन छलफललाई पूर्णता दिन दुवै पक्षका निकट सहकर्मीहरू असीम शाह, आसिफ शाह र कुमार बेन सक्रिय रूपमा खाका तयार पार्न जुटेका छन् ।

पार्टी एकताको छलफलमा विशेषगरी एकीकृत दलको नाम, चुनाव चिह्न र आगामी निर्वाचनका लागि उम्मेदवारको बाँडफाँटलाई मुख्य एजेन्डा बनाइएको छ। प्राप्त जानकारी अनुसार एकीकृत पार्टीमा बालेन शाहको वरीयता रवि लामिछानेको ठीक मुन्तिर रहने गरी सांगठनिक संरचना तयार पारिँदैछ । सबैभन्दा महत्वपूर्ण विषयका रूपमा रवि लामिछानेले बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने आफ्नो पुरानो प्रतिबद्धतामा अडिग रहने संकेत दिएका छन्, जसले सहमतिको वातावरणलाई थप सहज बनाएको छ। उम्मेदवार चयनका हकमा रविले ७०–३० को अनुपातमा समानुपातिक सूची तयार पार्ने प्रस्ताव गरे पनि बालेन पक्षले त्यसमा लचकता देखाउँदै संख्या निर्धारणको जिम्मा प्राविधिक टोलीलाई छोडिदिएको बुझिएको छ ।

यसअघि केही असमझदारीका कारण संवादमा तिक्तता आउन खोजे पनि दोस्रो तहका नेताहरूको दबाब र सक्रियतापछि दुवै नेता फेरि मिलनविन्दुमा आइपुगेका हुन् । बालेनले आफ्नै ‘देश विकास पार्टीु मार्फत अघि बढ्ने तयारी गरेपछि झस्किएका रविले पछिल्लो समय लचकता देखाएका हुन् । चुनाव चिह्नका हकमा घण्टी आम रूपमा स्थापित भइसकेकाले यसैलाई निरन्तरता दिने वा नयाँ विकल्प खोज्ने भन्नेमा समयले बताउने भन्दै नेताहरूले रहस्य कायमै राखेका छन् ।
नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने अभियान अन्तर्गत बालेनले कुलमान घिसिङलगायतका व्यक्तित्वहरूसँग पनि संवाद अगाडि बढाएका छन्, जसले यो सम्भावित मोर्चालाई थप शक्तिशाली बनाउने देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै