११ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण सहज बनाउन सरकारले राजनीतिक दौडधुप तीव्र पारेको छ ।
यसै सिलसिलामा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास भक्तपुरको गुण्डु पुग्नुभएको छ । चुनावी वातावरण निर्माण गर्न र ठूला दलहरूसँगको चिसिएको सम्बन्ध सुधार गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएर संवाद थालेकाले यस भेटघाटलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ ।
निर्वाचनको सुनिश्चितताका लागि प्रमुख दलहरूको साझा सहमति जुटाउने प्रयासस्वरूप मन्त्री खरेलले शीर्ष नेताहरूसँगको छलफललाई सघन बनाउनुभएको हो । गुण्डुमा ओली र खरेलबीच भइरहेको संवाद विशेषगरी प्रमुख प्रतिपक्षी दलको चुनावी तयारी र सरकारसँगको सहकार्यमा केन्द्रित रहेको बुझिएको छ। यसअघि आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँकै निवासमा भेटेर फर्किएका मन्त्री खरेलले लगत्तै एमाले अध्यक्षसँग संवाद अघि बढाउनुभएको हो ।
सरकारले निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति जुटाउने जिम्मेवारी मन्त्री खरेललाई सुम्पिएको देखिएको छ । सोही योजनाअनुसार खरेलले आजै एमाले अध्यक्षसँगको भेटघाट लगत्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुसँग पनि संवाद गर्ने तालिका रहेको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूलाई विश्वासमा लिएर फागुनको निर्वाचनलाई निर्विवाद रूपमा सम्पन्न गराउने सरकारको रणनीतिअनुसार यी शृंखलाबद्ध भेटघाटहरू भइरहेका छन् ।















