Logo

११ पुष, काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा वर्तमान सरकारको मन्त्रिपरिषद्मा सहभागी हुने हुनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि गरेको प्रस्तावलाई शर्माले स्वीकार गरेपछि उहाँलाई आजै दिउँसो २ बजे शपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । हाल प्रधानमन्त्री कार्की आफैँले सम्हाल्दै आउनुभएका रक्षा वा परराष्ट्र मन्त्रालयमध्ये एकको जिम्मेवारी शर्मालाई दिइने सम्भावना प्रबल रहेको बुझिएको छ ।

सैन्य रणनीतिकारका रूपमा परिपक्व छवि बनाउनुभएका शर्मा विशेषगरी शान्ति प्रक्रिया र सेना समायोजनका कुशल डिजाइनरका रूपमा परिचित हुनुहुन्छ । उहाँले विगतमा सेना समायोजन विशेष समिति सचिवालयको संयोजकका रूपमा रहेर तत्कालीन माओवादी लडाकुहरूको व्यवस्थापनमा अत्यन्तै महत्वपूर्ण र जटिल भूमिका सफलतापूर्वक निभाउनुभएको थियो । राजनीतिक दबाबका बीच पनि हजारौँ लडाकुहरूलाई स्वेच्छिक अवकाश र निश्चित संख्यालाई मात्रै समायोजनमा लैजाने उहाँको कार्यकौशललाई अझै पनि स्मरण गरिन्छ ।

प्रशासनिक र सुरक्षा मामिलामा दखल राख्ने शर्माले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखका रूपमा समेत काम गरिसक्नुभएको छ । प्रधानमन्त्री कार्कीले अनुभवी र प्राविधिक रूपमा दक्ष व्यक्तिलाई मन्त्री बनाउने रणनीति अन्तर्गत शर्मालाई रोज्नुभएको देखिन्छ। उहाँको मन्त्रिमण्डलमा प्रवेशसँगै सुरक्षा र कूटनीतिक क्षेत्रमा सरकारको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै