Logo

११ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक सक्रियता बढाउनुभएको छ ।

निर्वाचनको तयारी र दलहरूबीचको साझा सहमति खोज्न प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गर्नुभएको हो । शनिबारका लागि तय गरिएको यस बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई आमन्त्रण गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच बढ्दो असमझदारी अन्त्य गरी विश्वासिलो वातावरण निर्माण गर्नु यो बैठकको मुख्य उद्देश्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकको वातावरण बनाउन र शीर्ष नेताहरूलाई निम्तो दिन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल शुक्रबार दिनभर दौडधुपमा व्यस्त रहनुभयो । मन्त्री खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँहरूकै निवासमा पुगेर प्रधानमन्त्रीको सन्देश सुनाउँदै बैठकको निम्तो दिनुभएको छ । प्रवक्ता खरेलले आजै साँझसम्म नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर संयुक्त बैठकमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम रहेको छ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनलाई लिएर दलहरूबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीले बोलाएको यो सामूहिक छलफललाई निकै अर्थपूर्ण मानिएको छ । सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा, प्रशासनिक र कानुनी तयारीबारे दलहरूलाई ब्रिफिङ गर्ने र उनीहरूको प्रतिबद्धता खोज्ने बुझिएको छ । प्रमुख शक्तिहरू एकै ठाउँमा बसेर छलफल गर्दा निर्वाचनको सुनिश्चितता बढ्ने र राजनीतिक अन्योल चिर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै