Logo

११ पुष, वीरगञ्ज । नेकपा (एमाले) पर्साका पूर्व जिल्ला अध्यक्ष एवं दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारुले नेकपा (एमाले) परित्याग गरेका छन् । पार्टी नेतृत्वको कार्यशैली र पछिल्लो समयको राजनीतिक कार्यदिशाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै थारुले एमाले छोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय गरेका हुन् ।

थारुको नेतृत्वमा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ताहरू पनि सामूहिक रूपमा नेकपामा समाहित हुने तयारीमा छन् ।

आज काठमाडौँको पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा एक विशेष समारोह आयोजना गरिएको छ । सोही समारोहमा नेकपाका शीर्ष नेताहरूले थारुसहितको टोलीलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बुझिएको छ । थारुले एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको र नेतृत्वले एकलौटी ढंगले निर्णय गर्ने गरेको आरोप लगाउँदै आएका थिए ।

थारु निकट स्रोतका अनुसार आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आश्वासनपछि उनले पार्टी परिवर्तनको ठोस कदम चालेका हुन् । स्रोत भन्छ, “एमालेमा इमानदार कार्यकर्ताको मूल्याङ्कन हुन छाड्यो, त्यसैले जनमुखी एजेन्डा बोकेको नेकपामा रहेर मधेस र मधेसी जनताको सेवा गर्ने निष्कर्षमा हामी पुग्यौँ ।”

थारुको यो प्रवेशले पर्सा जिल्ला र समग्र मधेस प्रदेशको कम्युनिस्ट राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यसअघि पनि पर्साबाट प्रह्लाद गिरी र ज्योती चौरसिया जस्ता प्रभावशाली नेताहरू एमाले त्यागेर नेकपामा प्रवेश गरिसकेका छन् । थारुको बहिर्गमनले पर्सामा एमालेको सङ्गठनलाई धक्का पुग्ने र नेकपालाई मधेसमा आफ्नो प्रभाव विस्तार गर्न थप सहज हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।


सम्बन्धित समाचार