११ पुष, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ललितपुरको हात्तीबन पुग्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका लागि उहाँको निवास पुग्नुभएका मन्त्री खरेलले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका विषयमा छलफल गर्नुभएको छ । दिनभर अन्य प्रमुख दलका शीर्ष नेताहरूसँगको संवादमा व्यस्त रहनुभएका खरेलले प्रचण्डसँगको भेटलाई यस शृंखलाबद्ध संवादको महत्वपूर्ण कडीका रूपमा लिनुभएको छ । सरकारले आगामी निर्वाचनको तयारी र राजनीतिक सहमतिका लागि दौडधुपलाई तीव्रता दिएको छ ।
मन्त्री खरेलले प्रचण्डसँगको संवादका क्रममा विशेषगरी भोलि शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आह्वान गर्नुभएको तीन दलको संयुक्त बैठकका बारेमा जानकारी गराउनुभएको छ। प्रधानमन्त्रीले निर्वाचनका चुनौती र साझा कार्यभारका विषयमा छलफल गर्न शीर्ष नेताहरूलाई एकै ठाउँमा जुटाउन लाग्नुभएको सन्दर्भमा मन्त्री खरेलले सो बैठकका लागि औपचारिक निम्तो समेत प्रदान गर्नुभएको छ। भेटका क्रममा संयोजक प्रचण्डले निर्वाचनको सुनिश्चितता र दलहरूबीचको सहकार्यका विषयमा आफ्नो धारणा राख्नुभएको बुझिएको छ।
आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिसक्नुभएका मन्त्री खरेलले साँझ प्रचण्डसँगको भेटघाट गरेसँगै प्रमुख तीन शक्तिलाई एउटै टेबुलमा ल्याउने सरकारको प्रयासले मूर्त रूप पाएको छ। निर्वाचनलाई लिएर दलहरूबीच देखिन सक्ने असमझदारीलाई न्यूनीकरण गर्दै एउटा साझा सहमतिमा पुग्न सरकारले मन्त्री खरेलमार्फत यो उच्चस्तरीय समन्वय गरिरहेको हो। शनिबारको संयुक्त बैठकले चुनावी कार्यतालिका र शान्ति सुरक्षाका विषयमा ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।















