Logo

११ पुष, काठमाडौं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौमा भएको जेनजी युवा पुस्ताको आन्दोलनले नेपालको राजनीति र समाजलाई नयाँ गति र दिशा प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) द्वारा काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले युवाहरूको उक्त सक्रियताले मुलुकलाई नयाँ मार्गमा हिँडाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । उपराष्ट्रपतिका अनुसार यो आन्दोलनले शिक्षण सिकाइ प्रक्रियालाई केवल किताबी ज्ञानमा सीमित नराखी विवेकशील, सचेत र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न सबैलाई प्रेरित गरेको छ ।

शिक्षा क्षेत्रमा आमूल सुधारको आवश्यकता औँल्याउँदै उपराष्ट्रपति यादवले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसै युवा आन्दोलनले जुराएको बताउनुभयो । उहाँले अबको शिक्षा प्रणाली परिमार्जित, सीपयुक्त र राष्ट्रभक्तिले ओतप्रोत हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रका शिक्षालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। युवा पुस्ताको आकांक्षा र बदलिँदो समयको माग अनुसार शैक्षिक नीतिहरूलाई अघि बढाउनु पर्ने उहाँको तर्क थियो ।

निजी क्षेत्रका शिक्षालयहरूको भूमिकाबारे चर्चा गर्दै उहाँले सरकारको नीतिसँग मेल खाने र स्थानीय संस्कृति एवं मूल्य–मान्यतालाई सम्मान गर्ने खालका पाठ्यक्रम विकासमा जोड दिन आग्रह गर्नुभयो । शिक्षकहरूलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवर्तनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूलको ज्ञान उत्पादनमा निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो । समावेशी शिक्षा र समुदायसँगको सहकार्यमार्फत राष्ट्र निर्माणमा सक्रिय सहभागिता जनाउन पनि उहाँले निजी शैक्षिक संस्थाहरूको ध्यानाकर्षण गराउनुभयो ।


सम्बन्धित समाचार