११ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितताका लागि सरकारले चालेको राजनीतिक सक्रियताले नयाँ उचाइ लिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मुलुकका तीन मुख्य राजनीतिक शक्ति—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग उनीहरूकै निवासमा पुगेर गरेको शृंखलाबद्ध भेटवार्तामा निर्वाचनका विषयमा सकारात्मक संकेतहरू प्राप्त भएका छन् । भेटका क्रममा मन्त्री खरेलले सरकार निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा कटिबद्ध रहेको जानकारी गराउँदै दलहरूबाट सहकार्यको अपेक्षा राख्नुभएको थियो ।
भेटका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको बहस भइरहे पनि कांग्रेसको प्रमुख प्राथमिकता निर्वाचन नै भएको स्पष्ट पार्नुभएको छ । देउवाले समयमै चुनाव सम्पन्न गर्न आफ्नो पार्टीले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारलाई दृढताका साथ अघि बढ्न सुझाव दिनुभएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको सुरक्षा र निष्पक्षताका विषयमा चासो व्यक्त गर्नुभएको छ । ओलीले एमाले सधैँ जनमतको कदर गर्ने पार्टी भएकाले ‘फ्रेस म्यान्डेट’ का लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै मतदाताले निर्भयताका साथ मतदान गर्ने वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनको विकल्प नरहेको भन्दै तोकिएकै मिति अर्थात् फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिनुभएको छ । प्रचण्डले चुनावी प्रक्रियालाई सफल बनाउन आफ्नो दलको पूर्ण समर्थन रहने आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि राजनीतिक परामर्शलाई तीव्र बनाउनुभएको उल्लेख गर्दै मन्त्री खरेलले प्रमुख दलहरूका शीर्ष नेतृत्वसँगको यो संवादले निर्वाचनको वातावरण थप विश्वसनीय बनेको दाबी गर्नुभएको छ । भोलि शनिबार बालुवाटारमा हुने संयुक्त बैठकले यस सहमतिलाई थप संस्थागत गर्ने देखिएको छ ।















