११ पुष, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले कार्यभार सम्हालेलगत्तै विश्व रङ्गमञ्चमा नेपालको साख र छविलाई नयाँ उचाइमा पुर्याउने उद्घोष गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले राष्ट्रको हितलाई सर्वोपरि राखेर मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ र सकारात्मक बनाउने अठोट व्यक्त गर्नुभयो । पूर्वरथीको कूटनीतिक र सैन्य अनुभवलाई अब मुलुकको परराष्ट्र नीति कार्यान्वयनमा लगाउने प्रतिबद्धता जनाउँदै उहाँले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुलाई ‘मुलुकको उद्धार’ का लागि गरिएको प्रयासका रूपमा अर्थ्याउनुभएको छ ।
छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्दै मन्त्री शर्माले भारत र चीन जस्ता उदीयमान शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले विभिन्न मुलुकमा खटिएका नेपाली राजदूतहरूले राष्ट्रको प्रतिष्ठा जोगाउन गरिरहेको कामको मूल्याङ्कन हुने भन्दै सबैलाई जिम्मेवार भएर लाग्न निर्देशन समेत दिनुभएको छ । मुलुक अहिले निर्वाचनको महासंग्राममा होमिएको अवस्थामा परराष्ट्र मन्त्रालयले निर्वाह गर्नुपर्ने कूटनीतिक भूमिकामा कुनै कसर बाँकी नराख्ने उहाँको तर्क छ ।
आगामी निर्वाचनका सन्दर्भमा छिमेकी र अन्य मित्रराष्ट्रहरूसँग कुनै पनि प्रकारको सहयोग वा सहकार्य आवश्यक परेमा त्यसलाई पारदर्शी र सही तवरले उठान गरिने मन्त्री शर्माले बताउनुभयो । आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर मन्त्रालय पुग्नुभएका शर्माले मुलुकको भू(राजनीतिक संवेदनशीलतालाई बुझेर सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने विश्वास दिलाउनुभएको छ । उहाँको यस नियुक्तिले नेपालको कूटनीतिक संयन्त्रमा नयाँ गतिशीलता आउने अपेक्षा गरिएको छ ।















