Logo

११ पुष, बारा । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको आक्रमण, हत्या र हिंसाको विरोधमा बाराको सिम्रौनगढमा भव्य विरोध जुलुस प्रदर्शन गरिएको छ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर २, रानीवास बजारबाट सुरु भएको उक्त जुलुस अमृतगन्ज र जानकी नगर हुँदै सिम्रौनगढ बजारको विभिन्न भाग परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले बङ्गलादेश सरकारको विरोध गर्दै चर्को नाराबाजी गरेका थिए। जुलुस सिम्रौनगढ बजार परिक्रमा पश्चात् बस पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो।

प्रदर्शनकारीहरूले विभिन्न माग र आक्रोश व्यक्त गर्दै नाराहरू लगाएका थिए। रानीवासस्थित राम जानकी मन्दिरका महन्थ विनोद गिरीको अध्यक्षतामा सम्पन्न कोण सभामा स्थानीय नेता तथा अगुवाहरूले आफ्ना धारणा राखेका थिए। सभामा बोल्दै सुभाष प्रसाद कुशवाहा, रामबाबु ब्यास, आर.के. पटेल, रामाशंकर प्रसाद र मुकेश मोहन यादव लगायतले बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको दमन तुरुन्त रोक्न र दोषीलाई कारबाही गर्न माग गरे।

उनीहरूले छिमेकी देशमा हिन्दु समुदाय असुरक्षित हुँदा अन्तर्राष्ट्रिय समुदाय मौन बस्न नहुने र नेपाल सरकारले पनि यस विषयमा कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।

सहभागिता उक्त विरोध प्रदर्शनमा स्थानीय बासिन्दा, साधु-सन्त, विभिन्न धार्मिक सङ्गठनका प्रतिनिधि र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले हातमा प्लेकार्ड र झण्डा बोकेर ऐक्यबद्धता जनाएका थिए।


सम्बन्धित समाचार
भर्खरै