Logo

११ पुष, वीरगञ्ज । आगामी २०८२ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पूर्वमन्त्री लक्ष्मणलाल कर्णको नाम उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ ।

शुक्रबार बसेको लोसपाको क्षेत्रीय समितिको बैठकले पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री कर्णलाई नै पुनः सोही क्षेत्रबाट मैदानमा उतार्ने सर्वसम्मत निर्णय गरेको हो । यसअघि उहाँका छोरा एवं अधिवक्ता सुधीर कर्णलाई अगाडि सार्ने चर्चा चले पनि अन्त्यमा पार्टीले अनुभवी नेता कर्णकै नाममा छाप लगाएको छ ।

पुरानो विरासत फर्काउने रणनीति

२०७४ सालको निर्वाचनमा सोही क्षेत्र (पर्सा-४) बाट विजयी हुनुभएका कर्ण २०७९ को निर्वाचनमा भने गठबन्धनका कारण क्षेत्र परिवर्तन गरी पर्सा-१ बाट चुनाव लड्नुभएको थियो । तर, त्यतिबेला नेपाली कांग्रेसबाट ‘धोका’ भएको र आफ्नो जमानतसमेत जफत भएको तितो अनुभवपछि उहाँ पुनः आफ्नो पुरानो र सुरक्षित मानिएको क्षेत्रमा फर्कनुभएको हो । दुई पटक संविधानसभा सदस्य र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका कर्णको पुनरागमनले यस क्षेत्रको चुनावी समीकरणलाई तरंगित बनाएको छ ।

को–को छन् मैदानमा ?

पर्सा-४ मा यसपटक बहुपक्षीय र रोचक भिडन्त हुने देखिएको छ । विभिन्न दलहरूले आफ्ना प्रभावशाली उम्मेदवारहरूलाई अघि सारेका छन्:

  • नेपाली कांग्रेस: पूर्वमन्त्री एवं निवर्तमान सांसद रमेश रिजालको एकल नाम सिफारिस भएको छ ।

  • नेकपा (एमाले): अघिल्लो निर्वाचनका निकटतम प्रतिद्वन्द्वी जालिम मियाँको चर्चा छ ।

  • नेकपा (एकीकृत समाजवादी): एमाले छाडेर प्रवेश गरेका पूर्व संविधानसभा सदस्य जयप्रकाश थारु उम्मेदवार बन्ने चर्चा छ ।

  • जनता समाजवादी पार्टी (जसपा) नेपाल: नीति आयोगका पूर्व सदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा. डा. कृपा सिन्धु चौधरीलाई सिफारिस गरिएको छ ।

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): युवा उम्मेदवारका रूपमा जितेन्द्र मिश्रलाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ ।

पुरानो अनुभव र नयाँ शक्तिको उदयका बीच पर्सा-४ मा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ । विशेषगरी लक्ष्मणलाल कर्ण र रमेश रिजाल जस्ता अनुभवी नेताहरू र रास्वपा जस्ता नयाँ शक्तिका युवा उम्मेदवारबीचको भिडन्तलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै