Logo

१२ पौष, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन् । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी र दलहरूबीच थप समन्वयका विषयमा केन्द्रित रहेर दिउँसो बालुवाटारमा बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिसकेकी छन् । उक्त भेटमा चुनावी वातावरण निर्माण, राजनीतिक सहमति र समन्वयका विषयमा व्यापक कुराकानी भएको थियो ।

चुनावको वातावरण सहज बनाउन सरकार सक्रिय रूपमा संवादमा जुटेको छ। यसैक्रममा सञ्चारमन्त्री खरेलले हिजो देउवा, ओली र दाहालसँग उनीहरूकै निवासमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए ।

तीनै दलका शीर्ष नेतासँगको भेटपछि खरेलले आउँदो फागुन २१ गतेका लागि तय भएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरूको सहभागिता रहने बताएका थिए ।

सरकारले राजनीतिक दलहरूबीच सहमति र विश्वासको वातावरण निर्माण गरी निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन सम्पन्न गराउने लक्ष्यसहित संवादलाई तीव्र बनाएको बताइएको छ। आजको बैठकबाट चुनावी तयारीलाई थप गति दिने तथा आवश्यक राजनीतिक सहमति जुटाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार