१२ पौष,वीरगञ्ज । तराई क्षेत्रमा जारी शीतलहर र प्रतिकूल मौसममा सुधार नआएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालय बिदा थप दुई दिनका लागि विस्तार गरेको छ। महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अब पुस १४ गतेसम्म बन्द रहने भएका छन्।
यसअघि महानगरपालिकाले पुस ७ गतेदेखि ११ गतेसम्म पाँच दिनका लागि पठनपाठन स्थगन गरेको थियो। तर मौसमको अवस्था यथावत् रहेकाले विद्यार्थीहरूको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै मेयर राजेशमान सिंहको निर्देशनमा पुस १३ र १४ गते पनि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस १५ गते तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा परेकाले विद्यालयहरू पुस १६ गते बुधबारदेखि मात्रै नियमित रूपमा सञ्चालन हुनेछन्।
यसअघि जारी सूचनामा पुस १० गते क्रिसमस, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार सट्टा बिदा र पुस १२ गते शनिबार परेकाले पुस १३ गतेदेखि विद्यालय खुल्ने उल्लेख गरिएको थियो। तर चिसोको प्रभाव नघटेकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै थप बिदा दिनुपरेको महानगरपालिकाले जनाएको छ। थपिएको बिदा वार्षिक बिदाबाट कट्टा गरिनेछ।
पुस महिनामा तराई क्षेत्रमा देखिने घना कुहिरो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेकाले पछिल्ला दिनहरूमा विद्यालय आवतजावत कठिन बनेको थियो।
महानगरपालिकाको निर्णयले वीरगञ्जका हजारौँ विद्यार्थीलाई अस्थायी राहत मिलेको छ। अभिभावकहरूले पनि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको भन्दै महानगरपालिकाको निर्णयको स्वागत गरेका छन्। मौसममा सुधार आएमा थप सूचना जारी गरिने महानगरपालिकाले जनाएको छ।
















