Logo

१२ पौष, काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरी आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र यसलाई सफल पार्न आग्रह गर्नुभएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचन केन्द्रित संवाद गर्नुभएको हो।

सरकारको ध्यान निर्वाचनमा मात्र केन्द्रित

भेटका क्रममा प्रधानमन्त्री कार्कीले आफू न्यायिक पृष्ठभूमिबाट आएको र राष्ट्रपतिबाट निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारी पाएको उल्लेख गर्नुभयो। उहाँले सरकार पूर्ण रूपमा निष्पक्ष निर्वाचनको तयारीमा लागेको बताउँदै भन्नुभयो, “निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउनकै लागि मैले रक्षा मन्त्रालयबाहेकका अन्य सबै मन्त्रालयको जिम्मेवारी मन्त्रीहरूलाई सुम्पिएकी छु।”

सुरक्षा र स्रोतसाधनको सुनिश्चितता

प्रधानमन्त्रीले निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई आवश्यक पर्ने सम्पूर्ण स्रोतसाधन सरकारले उपलब्ध गराइसकेको जानकारी दिनुभयो। उहाँले सुरक्षा संयन्त्रको मनोबल उच्च रहेको र कुनै पनि बहानामा निर्वाचन प्रक्रिया अवरुद्ध हुन नहुनेमा जोड दिनुभयो।

दलहरूको भूमिका र लोकतन्त्रको स्थिरता

राजनीतिक दलहरू निर्वाचनका लागि तयार देखिनु सकारात्मक संकेत भएको बताउँदै उहाँले यसलाई व्यवहारमा उतार्न नेताहरूलाई आग्रह गर्नुभयो। “राष्ट्रको भविष्य, राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका लागि सबै दलले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो।

छलफलको अन्त्यमा प्रधानमन्त्री कार्कीले कुनै पनि अन्योल नगरी फागुन २१ का लागि तय गरिएको निर्वाचन सफल बनाउने संकल्प गर्न नेताहरूलाई आह्वान गर्नुभयो। नेताहरूले पनि निर्वाचनको वातावरण निर्माणमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार