१२ पौष, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्पष्ट पारेका छन्। नयाँ राजनीतिक शक्तिहरूबीच एकताको चर्चा चर्किरहेका बेला घिसिङको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीबीच सम्भावित एकताको चर्चा भइरहेका समयमा मन्त्री घिसिङले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले एकताको नाममा कसैलाई समाप्त पार्ने सोच स्वीकार्य नहुने बताए। उनका अनुसार साँचो एकता भनेको अहंकार त्यागेर साझा उद्देश्यका लागि सबैलाई सम्मानजनक स्थान दिँदै अघि बढ्नु हो।
घिसिङले देश अब पुरानै ढाँचाबाट होइन, नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरे। जनताले नयाँ राजनीतिक शक्तिहरू एकजुट भएको देख्न चाहिरहेको भन्दै उनले व्यक्तिगत महत्वाकांक्षा त्यागेर राष्ट्रिय उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले उज्यालो नेपाल पार्टीप्रति जनविश्वास क्रमशः बढ्दै गएको दाबी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिन आग्रह गरे। निर्वाचनमार्फत इमानदार, उत्तरदायी र जनमुखी नेतृत्व चयन गर्न सकिने भएकाले नागरिक सचेत हुनुपर्ने उनको भनाइ थियो।
उज्यालो नेपाल पार्टीले देशभर संगठन विस्तार गरिरहेको उल्लेख गर्दै घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय स्तरको यात्रामा प्रवेश गरिसकेको बताए।
यसैबीच, उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेन साहसँग पार्टी विलय गर्ने गरी एकतामा नजाने औपचारिक निर्णय गरेको छ। शनिबार कुलमान घिसिङकै उपस्थितिमा बसेको केन्द्रीय समिति बैठकले आफ्नो अस्तित्व नै समाप्त हुने गरी अन्य पार्टीमा विलय नहुने निर्णय गरेको हो।
बैठकका सहभागी एक नेताका अनुसार पार्टीले एकताका लागि पर्याप्त लचकता देखाए पनि अपेक्षित सहमति बन्न नसकेको निष्कर्ष निकालिएको छ। बरु, उज्यालो नेपाल पार्टीकै नेतृत्वमा वैकल्पिक र अग्रगामी शक्तिहरू एकजुट भएर निर्वाचनमा जान आह्वान गर्ने निर्णय गरिएको छ।
बैठकले उज्यालो नेपाल पार्टीको नाममै चुनाव लड्न तयार भए पार्टी नेतृत्व र सरकारको जिम्मेवारीसमेत छोड्न तयार रहेको सन्देश दिएको छ। पार्टीभित्रका एक नेताले भने, “उज्यालो नेपाल पार्टीको ब्यानरमा चुनाव लड्न आउने हो भने सभापति र प्रधानमन्त्री पद छोड्नसमेत हामी तयार छौँ।”















